पोखरा, साउन १२ – पोखरा महानगरपालिका–१०, रामबजारमा अवस्थित दौतरी समूहको आयोजनामा हुन गइरहेको पहिलो अन्तर विद्यालय फूटसल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन्। प्रतियोगिता यही साउन १५ गतेदेखि सुरु हुँदैछ र पोखरास्थित रंगशाला मल्टिपर्पोज हलमा आयोजना हुनेछ। प्रतियोगितामा पोखराका विभिन्न विद्यालयका टिमहरूको सहभागिता रहनेछ।
यस प्रतियोगिताको उद्देश्य विद्यालयस्तरमा अध्ययनरत छात्रहरूबीच फुटसल खेलमा रुचि बढाउनु, स्वास्थ्यप्रद जीवनशैलीलाई प्रोत्साहन गर्नु र आपसी मित्रता तथा प्रतिस्पर्धाको भावना विकास गर्नु हो। साथै, खेलकुदको माध्यमबाट विद्यार्थीहरूको नेतृत्व, अनुशासन र समर्पणलाई अगाडि ल्याउने प्रयास यो प्रतियोगिताबाट गरिएको छ।
प्रतियोगिताको सम्पूर्ण प्रचारप्रसार, प्रसारण तथा समाचार व्यवस्थापनको जिम्मेवारी Gurkha Plays Media Company ले लिएको छ। Gurkha Plays ले प्रतियोगिता अवधिभर लाइभ प्रसारण, फोटोग्राफी, भिडियो रिपोर्टिङ, समाचार सम्प्रेषण तथा अन्तर्वार्ता निर्माण जस्ता विभिन्न मिडिया सेवाहरू प्रदान गर्नेछ। यसले प्रतियोगिताको गरिमा अझै बढाउनुका साथै सहभागी टोली र दर्शकहरूका लागि उत्कृष्ट सम्झना तयार पार्नेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता (High Scorer), र Fair Play टिम/विद्यालयलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिनेछ। Fair Play टिमलाई नगद रु ७,७७७/- र ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्कोररलाई छुट्टै ट्रफीले सम्मान गरिनेछ। प्रतियोगिताको अर्को आकर्षणको रूपमा, क्वार्टरफाइनल चरणदेखि प्रत्येक खेलमा “Man of the Match” घोषणा गरिने व्यवस्था पनि गरिएको छ। यसले खेलाडीहरूको मनोबल बढाउने विश्वास आयोजकले लिएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार रु ५५,५५५/-, र दोस्रो पुरस्कार रु ३३,३३३/- रहेको छ भने प्रवेश शुल्क प्रतिटिम रु ५,०००/- कायम गरिएको छ। प्रतियोगिता संयोजनमा दौतरी समूहका सम्पूर्ण सदस्य, विभिन्न विद्यालयका खेल शिक्षकहरू, तथा क्षेत्रीय खेलप्रेमीहरूको योगदान सराहनीय रहेको छ।
दौतरी समूह एक दर्ता प्राप्त परोपकारी संस्था हो, जसले विगतदेखि नै विपन्न, अशक्त, दीर्घरोगी बिरामीहरूलाई उपचार सहयोग, आर्थिक सहायता र सामाजिक सेवाहरू गर्दै आएको छ। समूहले विभिन्न विद्यालयमा शैक्षिक तथा खेलकुद गतिविधिमा सहयोग गर्ने, बाढीपहिरो तथा विपद्मा परेको व्यक्तिहरूलाई राहत प्रदान गर्ने लगायतका सामाजिक कार्यहरूमा निरन्तर सक्रियता देखाउँदै आएको छ।
खेलकुदलाई सामाजिक विकासको माध्यम मानेर दौतरी समूहले यो प्रतियोगिता आयोजना गर्न लागेको हो। समूहले यो प्रतियोगितालाई भव्य, मर्यादित र अनुशासित तरिकाले सम्पन्न गर्ने पूर्ण प्रतिबद्धता जनाएको छ। साथै, सहभागि हुने सबै विद्यालयहरूलाई समयमै उपस्थित भइ खेललाई सफल बनाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया